• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भू-भागहरूमा भारी वर्षा हुने भएको छ ।

मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा राति गण्डकी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्य प्रदेशका पहाडी भूभागहरुमा मध्यम वर्षा र बाँकी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । मधेश प्रदेशका एकदुई स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । ‍

वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।