• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पारस खड्का भन्छन्– एक च्याम्पियन क्रिकेटर, क्रिकेटमा गरेको योगदानप्रति धन्यवाद ज्ञानु

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्यास लिएका छन् । मल्लले शुक्रबार पत्रकार सम्मेलन गरेर अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास ल्याएको घोषणा गरेका हुन् ।

उनको सन्याससंगै उनका शुभचिन्तक, समकालिन खेलाडीहरुले उनलाई एउटा कुशल खेलाडीले सन्यास लिएको बताउँदै आगामी दिनको शुभकामना दिएका छन् ।

क्यानले ऐतिहासिक जित दिलाउने उत्कृष्ट ब्याटसम्यान भएको बताएको छ ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा समकालिन क्रिकेटर पारस खड्काले मल्ल एक च्याम्पियन क्रिकेटर र एक शानदार साथी रहेको बताएका छन् । उनले भने ‘ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेटमा पुर्याउनु भएको योगदानप्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु । एक च्याम्पियन क्रिकेटर र टोलीको शानदार साथी … गर्व, समर्पण, अनुशासन र इमानदारीका साथ राष्ट्रको सेवा गरेकोमा ज्ञानुलाई बधाई छ ।’

उनलाई नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आफूलाई मागदर्शन गरेको कहिल्यै नभुल्ने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘ज्ञानु दाई टोलीलाई गौरवशाली विजयहरूसम्म पुर्‍याउनेदेखि लिएर समर्पणको उदाहरण स्थापित गर्ने, हामीलाई उचाई र नीचमा मार्गदर्शन गर्ने, यो लगभग दुई दशकको अविश्वसनीय यात्रा हो ।’

नेपाली क्रिकेटर करण केसी र सोमपाल कामीले मल्लले संसारभरका लाखौं नेपालीलाई प्रेरणा दिएको बताएका छन् ।

यूएईका पूर्वकप्तान एवं समकालिन खेलाडी रोहन मूस्तफाले नेपाली क्रिकेटमा मल्लको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपाली क्रिकेटमा तपाईंको योगदान कहिल्यै बिर्सने छैन । एक खेलाडी भन्दा तपाईं महान व्यक्ति हुनुहुन्छ । तपाईको अनुहारमा मुस्कान सधैं मिस हुनेछ । भविष्यको लागि शुभकामना’

यस्तै गायक प्रमोद खरेल र रचना रिमालले पनि उनको योगदानप्रति धन्यवाद ज्ञापन गरेका छन् । ज्ञानेन्द्र मल्लले पत्रकार सम्मेलनको क्रममा क्यान, पूर्व समकालिन साथी पारस खड्का, अहिलेका क्रिकेट खेलाडी, श्रिमती, परिवार लगायत सम्पूर्णले दर्शाएको माया, साथ र समर्थनप्रति आभार व्यक्त गरेका थिए ।