काठमाडौं । मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमै रोकिएका छन् ।
शुक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।
उनी आइतबार विहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने तयारी थियो ।
तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए ।
‘विहान ८:५५ मा काठमाडौंबाट जहाज आइपुगेको थियो । तर खराब मौसमका कारण फर्कन सकेको छैन,’ बस्नेतले भने, ‘अल्लीअघि सम्म काठमाडौंको मौसम राम्रो थिएन । अहिले त्यता राम्रो हुँदैछ तर यताको बिग्रिएपछि फर्कन सकेन ।’
उनले भरतपुरमा अहिले झरी परिरहेको छ । मौसममा सुधार हुँदै गएकाले केहीबेरमा जहाज उड्ने सम्भावना रहेको बताए ।
प्रधानमन्त्री दाहाल पारिवारिक भेटघाटका लागि भरतपुर आएका थिए । उनी शिवनगरस्थित निवासमा बसेका थिए।