काठमाडौं । क्लिन एयरनेटर्वक नेपाल (सिएएनएन) ले बढ्दो वायु प्रदुषणबारे चिन्ता व्यक्त गरेको छ । क्यानले एक विज्ञप्तिमार्फत नेपाल विश्वकै तेस्रो वायु प्रदुषण मुलुक रहेको र यसले नेपालीको औसत आयु ४.६ वर्षले घटाइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ सिकागो अन्र्तगतको इनर्जी पोलिसिले यहि अगस्ट २९ तारिखमा सार्वजनिक गरेको हावाको गुणस्तर सम्बन्धि प्रतिवेदन वायुको गुणस्तर औसत वार्षिक १० गुणा बढेको उल्लेख गरेको छ । यसले गर्दा नेपालीको औसत आयु ४.६ वर्षले घटेको हो । वायु गुणस्तर सकरात्मक भएको खण्डमा वार्षिक औसत आयु वृद्धिदर ४.६ वर्षले बढ्ने क्यानको अनुमान छ ।
उच्च वायु प्रदुषण रहेको मधेश प्रदेशमा वायु प्रदुषण कमी गर्न सकेमा औसत आयु ७ वर्षले बढ्ने स्वच्छ उर्जा नेपालले बताएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको वायु प्रदुषणको मात्रा ८ गुणा बढि रहेको छ । ‘काठमाडौंको सन्दर्भमा वायु प्रदुषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा ८ गुणा बढी छ र यसलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड भित्र पुर्याउन सके हरेक काठमाडौंबासीको आयु औसत ३.५ वर्षले बढ्ने छ । काठमाडौंको वायुप्रदुषण ३० प्रतिशतले मात्र घटाउन सके पनि हरेक काठमाडौंबासीको आयु औसत १.२ वर्षले बढ्ने थियो ।’ सिएएनएनले विज्ञप्तिमार्फत जनाएको छ ।
सरकारले केहि नीति नियम र योजना जस्तैः काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ करिब ४ वर्ष अघि नै मन्त्रिपरिषदबाट पारित भइसकेको छ । यी नीति नियम र योजनाहरुको कार्यन्वयन मुख्य प्राथमिकता हो ।
उक्त नीति नियम तथा योजना कार्यन्यवन गर्न स्वच्छ उर्जा नेपाल (क्यान) ले सरकारसँग माग गरेको छ । सिएएनएनले विज्ञप्तिमा लेखेको छ ‘नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ तर वायु गुणस्तर (प्रदुषण) को कारण नेपालीहरुको स्वास्थमा परेको असर एकदमै चिन्ताजनक स्थितिमा पुगिसकेको सन्दर्भमा यसलाई नियन्त्रण गर्न सरकारले तत्काल तीब्र गतिमा काम अघि बढाउन क्यान सदस्यहरु माग गर्दछौँ ।’
