
काठमाडौं । काठमाडौंको ठमेलमा रहेको गामबेंसी दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको छ ।
एक जना ग्राहकले गएकाे आइतबार साँझ सो दोहोरी साँझमा कार्ल्सवर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारे लगत्तै काठमाडौं महानगरमा उजुरी दिएका थिए ।
उनकै उजुरीका आधारमा सोमबार महानगरको अनुगमन टोली दोहोरी साँझमा पुगेको थियो । दोहोरी साँझका सञ्चालकले अनुगमन टोलीलाई सधैं आफूले बियर ल्याउने ठमेलकै भीम स्टोरमा पुर्याएका थिए ।
सोमबार बिहान सो स्टोर्समा म्याद गुज्रेको अन्य बियर फेला नपरेपछि साँझ फेरि महानगरको अनुमगन टोलीले स्टोर्समा छड्के अनुगमन गरेको थियो । सो क्रममा ८ वटा म्याद गुज्रेको बियर फेला परेको महानगरले जनाएको छ ।
म्याद गुज्रेको बियर भेटेपछि तत्काल स्टोर्सका सञ्चालक देवदास मानन्धरलाई चेतावनीसहित दुई लाख रुपैयाँ जरिवाना गरिएको पनि महानगरले जनाएकाे छ ।