• २०८३ असार १५
  • 2026 June 29, Monday

बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुन आज सोमबार चीन प्रस्थान गरेका छन् । मंगलबार र बुधबार बेइजिङमा हुने (बीआरएफमा) ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे समेत छलफल हुनेछ । सो कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिनेछन् ।

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए । वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत हुन् । उपप्रधानमन्त्री श्रेष्ठ र उनीबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुनेछ ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुनेछन् ।

सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बुझिएको छ । चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । (बीआरआई) सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तराष्ट्रिय परियोजना हो ।

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेल लगायत रहेका छन् ।