पार्टी खोलेर चुनाव लड्न पूर्व राजालाई माधव नेपालको चुनौति

काठमाडौं । पूर्व प्रधानमन्त्री माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौति दिएका छन ।

भक्तपुरमा आज आयोजित दशैं शुभकामना कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।

नेपालले भने, आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्व राजालाई चुनौती दिए ।

अध्यक्ष नेपालले भने, ‘प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य हुँदैन, नेपालमा अब कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य छैन । भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्छ।’

नेपालले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरू सबै थाहा छ । त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होसियार हुनुपर्छ । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन ।’

अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए । गठबन्धन भत्काउने कोसिस कुनैपनि हालतमा सफल नहुने उनको दाबी छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१