चीनमा हृदयघात भएका गृहमन्त्री श्रेष्ठ खतरामुक्त

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले यसको पुष्टि गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई चीनमै चिकित्सकको निगरानीमा राखिएको बताइन् ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको सूचना तथा सञ्चार मन्त्री शर्माले जानकारी दिइन् ।

आजको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले यस विषयमा पनि छलफल गरेको जानकारी दिदैँ उनले उपप्रधानमन्त्री श्रेष्ठ खतरा मुक्त भएको बताइन् ।

उनले श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको र उपचारमा अझै समय खर्च हुने पनि बताइन् ।

उनले भनिन्, ‘हाम्रो उपप्रधानमन्त्री यती बेला चाइनामा हुनुहुन्छ । गएराती उहाँलाई अचानक हृदयघात भयो र चाईनाको बेइजिङ्स्थित हस्पिटलमा उहाँको उपचार भइरहेको छ । अहिले उहाँ खतरा मुक्त हुनुहुन्छ भन्ने खबर छ । राजदूतसँग प्रधानमन्त्रीको कुरा भइरहेको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ भन्ने खबर आएको छ । दुईचारदिन उहाँको उपचारमा अझै समय खर्च हुन सक्छ भन्ने खबर छ र त्यो कुरालाई प्रधानमन्त्रीले बैठकमा छलफल गर्नु भएको थियो ।

उनी मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे छलफलमा सहभागी भएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१