
काठमाडौं । अभिनेत्री रेखा थापाले नबालिग गायिकाको पक्षमा आफूले बोल्दा समाजबाट दुत्कार सहनुपरेको गुनासो गरेकी छन् । महिला दिवसका सन्दर्भमा आयोजित एक सडक बहस कार्यक्रममा रेखाले यस्ताे गुनासाे गरेकी हुन् ।
उनले चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताइन् । उनले अब अदालत बन्द गरे पनि हुने भयाे भन्दै चुनाैति पनि दिइन् । उनले भनिन् ‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस् ।’
उनले पीडित नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा आफूलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएकाे भनी दुखेसाे पनि पाेखिन् ।
जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? उनले प्रश्न गरिन् । उनले भनिन्, ‘चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’
केही दिनअघि थापाले नाबालिग गायिका बलात्कारकाे शिकार बनेकाेबारे पीडितकाे पक्षबाट अभिव्यक्ति दिएकी थिइन् । सामाजिक सञ्जालमा उनीमाथि गाली गलाैज भएकाे थियाे ।