
काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो । पक्राउ गर्नु पूर्व उनले आफुले न्याय पाउने बताएका थिए । ‘सम्मानित सर्वोच्च अदालतले गरेको निर्णयप्रति म सम्मान गर्दै र कानुनमाथि फेरि पनि विश्वास गर्दै म भोलि फेरि न्याय पाउने छु भन्ने एउटा आशा गर्दै आत्मसर्मपण गर्न जाँदै छु । मलाई लागेको दोषहरु पछि छानबिन होला ।’ उनले यस्तो प्रतिक्रिया दिएका छन् ।
आफुले यसअघिपनि दोषी ठहर हुँदा आत्मसमर्पण गरेको बताएका छन् । उनले भने ‘२०७२ सालमा दोष लागेर हिजोको दिनमा पनि मैले कानुनप्रति विश्वास राखेर आफुुलाई जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेको थिए । म कानुनमाथि पूर्ण विश्वास राख्छु ।’
सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।
रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए ।