सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाका सम्बन्धमा समितिद्वारा उजुरी माग

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत संसदीय सुनुवाइ समितिमा शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि टुंगो लागेका ६ जनाका सम्बन्धमा उजुरी माग गर्ने बारेमा छलफल भएको छ ।

समितिको बैठकमा न्यायाधीश पदमा नियुक्त शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताको पदका लागि नियुक्त सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालका विषयमा छलफल भएको हो ।

सुनुवाइ समितिको बैठकले न्यायाधीशमा प्रस्तावित व्यक्तिका नियुक्तिको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन गर्न समितिसचिवलाई निर्देशन दिएको छ ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १३ बमोजिम उक्त निर्देशन दिएका हुन् ।

उनले भने, ‘प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिको लागि सिफारिस व्यक्तिहरुको नियुक्तिको अनुपयुक्तता सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’

प्रस्तावित व्यक्तिहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदको लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधारको खोली समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यमहरुमार्फत सूचना दिन उनले निर्देशन दिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१