भूमि आयोगको मान्छे हुँ भन्दै ठगी

काठमाडौं । काठमाडौंमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौं महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाई पैसा असुल गरेको पाइएको हो ।

अनुसन्धानका क्रममा आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौँ भनी परिचय गराई काठमाडौंमा सुकुम्वासीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजार लाग्ने भनी फारम भर्न लगाई ठगी गरेका पाइएको प्रहरीले जानकारी दिएको छ ।

यसरी ठगी गर्ने कार्यमा झापाको भद्रपुर घर भई काठमाडौंको टोखा बस्ने ३८ वर्षका होमनारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ४४ वर्षका उद्धव भण्डारी संलग्न रहेको पाइएको छ । उनीहरुबाट ल्यापटप, प्रिन्टर, भूमिहीन (भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फारम लेखिएको), अव्यवस्थित बसोवासीले दिने निवेदनको ढाँचा लेखिएको फारम, विभिन्न व्यक्तिको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइललगायतका सामग्री बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा आदालतको आदेशले दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका परिसरले जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१