• २०८३ असार १६
  • 2026 June 30, Tuesday

आरती हत्या प्रकरणका दोषीलाई पक्राउ नगरेपछि आजपाको प्रश्न : राज्य पीडितको पक्षमा कि पीडकको

काठमाडौं । आम जनता पार्टी (आजपा) ले आरती साहको हत्यारा पक्राउप्रति सरकारको ध्यान केन्द्रित नभएको जनाएको छ । आरती साहको हत्याराहरु मध्येका मोतीबाबु साहलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पक्राउ नपरेको आम जनता पार्टी (आजपा) ले उल्लेख गरेको छ ।

आइतबार एक विज्ञप्ती मार्फत १ सय ७८ दिनदेखि न्यायको पखाईमा रहेको परिवारलाई अदालतले गरेको निर्णय न्यायोचित भएको तर राज्यले न्यायलयको निर्णय कार्यान्यवनमा ढिलाई गरेकोप्रति आजपाले ध्यानाकर्षण गराएको छ । यसले राज्य पीडितको पक्षमा छ कि पीडकको पक्षमा छ भन्ने बारेमा शंका उत्पन्न भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘विगत १ सय ७८ दिनदेखि अनवरत न्यायको पर्खाईमा संघर्षरत पीडित परिवारलाई अदालतको निर्णयबाट केहि राहत तथा आंशिक न्याय प्राप्तिको अनुभूति भईरहेको विशेष महत्वपूर्ण समयमा राज्य पक्षबाट न्यायालयको निर्णय कार्यान्वयनमा भइरहेको ढिल्लासुस्ती एंव् उदाशीनताले राज्य पीडितको पक्षमा छ, कि पीडकको पक्षमा गम्भीर शंका उत्पन्न भएको छ । राज्य पक्षको यस्तो चरम लापरवाही एवं अकर्मण्यताले गर्दा भोली आरोपित फरार भएमा त्यसको र त्यसबाट सृजित हुनसक्ने विषम एवं जटिल परिस्थितिको जिम्मेवारी कसले लिने ? यसको जवाफ नेपाल सरकार तथा गृह प्रशासनले दिनैपर्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

आरोपितलाई शिघ पक्राउ नगरेमा आरोपित फरार हुनसक्ने र पीडितले न्याय नपाउने भन्दै पक्राउ गर्न भनिएको छ ।

‘यस विषयको गम्भीरतालाई जिम्मेवारीबोधका साथ पालना गर्न अभियुक्त मोतीबाबु साहलाई यथाशीघ्र गिरफ्तार गर्दै कानूनी दायरामा ल्याई पुर्पक्षका लागि थुनामा पठाउन तथा आन्दोलनरत पक्षको मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न गराउन नेपाल सरकार गृह प्रशासन सहित सरोकारवाला सबै निकायसँग माग गर्दछौं ।’