
काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध जित निकालेकाे छ ।
पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध रोमाञ्चक जित हात निकाल्न सफल भएकाे हाे । नेपालको जितमा रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले ।
पौडेलले ८५ बलमा ४ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । आरिफ शेख ८१ बलमा २ चौकासहित ५३ रनमा एलबीडब्लू आउट भए ।
नेपालले संघर्षपूर्ण खेल खेलेर राेमाञ्चक जित हात पारेकाे हाे ।
राेमाञ्चक यसकारण कि, अन्तिम ६ बलमा जितको लागि ५ रन चाहिएको थियो । अन्तिममा पहिलो बलमा लेग वाइको रुपमा नेपालले चौका प्राप्त गर्याे । दोस्रो बलमा करण केसीले छक्का प्रहार गरी नेपालको जित पक्का गराए ।
करण २५ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे । पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर भेट्टाएकाे हाे ।