पल शाहमाथि अनुसन्धानका लागि तनहुँ अदालतबाट पुनः ५ दिनको म्याद थप

काठमाडाैं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालतबाट पुनः ५ दिनको म्याद थप गरिएको छ ।

अनुसन्धान पूरा नभएका कारण तनहुँ प्रहरीले अदालतमार्फत ५ दिनको म्याद थप गरेको प्रहरीले जनाएकाे छ ।

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा शाहविरुद्ध गएकाे फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएको ५ दिनपछि शाह आफैँ प्रहरीकाेमा गएका थिए ।

यसअघि अनुसन्धानका लागि पहिलो चरणमा ५ दिन र दोस्रो चरणमा १२ दिन म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

अभियुक्त शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पनि जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । सोही जाहेरीमा अनुसन्धानका लागि उनलाई गत फागुन २४ गते नवलपरासी लगेर गत शुक्रबार पुनः तनहुँ ल्याइएको हाे ।

नाबालिग जबर्जस्ती करणी अभियोगमा अनुसन्धानमा रहेका अभिनेता शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार मुद्दा दर्ता भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१