
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले अब विश्वविद्यालयको डीन, सहायक डीन तथा क्याम्पस प्रमुख सबै राजनीतिक आधार नभइ प्रतिस्पर्धाबाट मापदण्ड अनुसार नै नियुक्त गर्ने बताएका छन् ।त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा मंगलबार प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् । सोही कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बरालले प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई मात्र डीन, सहायक डीन तथा क्याम्पस प्रमुखमा नियुक्त गर्ने विश्वास दिलाए ।
उनले भने, ‘सुरुदेखि नै पदाधिकरीहरु दलीय भागबण्डाको आधारमा नभइकन प्रणालीगत रुपमा नियुक्त हुन्छ भन्ने विषय मैले आफ्नो त्रिवि सुधार योजनामै उल्लेख गरेको छु । त्यसको लागि मापदण्ड निर्धारण गर्न योजना आयोगको पूर्व सदस्यको अध्यक्षतामा समिति गठन गरिसकेका छौं । हामी तीन जना नै मापदण्डअनुसार अबका पदाधिकारी नियुक्त गर्न प्रतिबद्ध छौं, मापदण्ड अनुसार नै नियुक्ति हुन्छ ।’
विकराल समस्याका रुपमा रहेको राजनीतिक नियुक्ति र गोलचक्करबाट विश्वविद्यालयलाई टाढा राखी सुधार गर्ने योजनामा रहेका उपकुलपति बरालले पदाधिकारी नियुक्ति मापदण्ड बन्ने प्रकृयामा रहेकाले हाल कामचलाउ पदाधिकारी नियुक्त गरेको उल्लेख गर्दै मापदण्ड बनेपछि पूर्ण कार्यान्वयन गर्नेमा जोड दिए ।
उनले भने, ‘हाल मापदण्ड तयार भइ नसकेको हुनाले हामीले खाली भएका स्थानमा काम चलाउ पदाधिकारीको नियुक्त दिइराखेका छौं । मापदण्ड निर्धारणपछि त्यसको आधारमा पूर्ण कार्यान्वयन गर्ने गरी पदाधिकारी नियुक्ति प्रणालीको शुरु गर्छौ ।’