
काठमाडाैं । नाबालिग गायिकामाथि बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन् । जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
तनहुँका प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले तीन दिन लामो थुनछेक बहसपछि बिहीबार शाहलाई थुनामा पठाउन आदेश जारी गरेको हो ।
प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो । फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
पल पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
पलका म्यानेजर कृष्ण जोशीसँग भने अदालतले एक लाख धरौटी माग गरेको छ ।
पललाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ । उनका म्यानेजरलाई त्यसको आधा सजाय माग गरिएको छ। पलविरुद्ध जिल्ला अदालत नवलपुर-९ (पूर्वी नवलपरासी) मा पनि बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ ।
तनहुँमा आदेश आएपछि अब पललाई थुनछेक बहसका लागि नवलपुर लगिने छ ।