
काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्वदेश फर्किएकी छन् ।स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन ।
‘विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो, ’ डंगोलले भनिन, ‘अवस्थालाई अवसरमा रुपान्तरण गरिएका कथाहरु हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरुको सार्थक र सक्रिय सशक्तिकरणका लागि उपयोग गर्छौँ ।’सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण गरिएको थियो ।
राजनीतिक क्षेत्रको प्रतिनिधित्व गर्दै अष्टे«लियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विचार राखेका थिए ।फेस्टिभलको संवाद सत्रमा उनीहरुलाई ‘वुमन अफ द वल्र्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन ।संवादमा महिलाहरुका परिस्थिति र प्रतिकुलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताएकी थिइन ।
सम्मेलनपछि विभिन्न द ब्रिटिस एकेडेमी, ब्रुनल युनिभर्सिटी, रोयल जिओग्राफिकल सोसाइटीसहित विभिन्न संघसंस्थाले आयोजना गरेको ‘इन्डिजिनाइजिङ् द हिमालयज’ कार्यक्रममा सहभागी भइन ।नेपालका हिमाली क्षेत्रका तस्वीर देखेर बनाइएका गलत धारणा र प्रचारलाई सुधार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै उनले नेपाली संस्कृतिको उचाइलाई घट्न नदिन सबै प्रकारका प्रयासहरु गरिरहनुपर्ने बताइन ।
यस क्रममा अक्सफोर्ड विश्वविद्यालयमा ‘सहरीकरणको अभ्यास अवस्था र आवश्यकता’ विषयमा काठमाडौँको प्राचीनता जोगाउन र आधुनिक आवश्यकता पूरा गर्न महानगरपालिकाले गरेको प्रयासका बारेमा प्रस्तुतिकरण गरेकी थिइन ।
व्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी हुन् । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिंदैछ ।स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो ।
यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेका छन् ।लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो ।हालसम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।