काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले युवापुस्ताको चिन्ता सकारात्मक भएमात्रै मुलुकले समृद्धितर्फ फड्को मार्न सहज हुने बताएका छन् ।मन्त्रालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले बैंक ऋणको किस्ता तिर्न नसक्दा मनपरी बोल्ने जनशक्ति तयार भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
रोजगारी र उत्पादनमूलक काममा ध्यान नदिएर आरामको जीवन मात्रै बिताउन चाहनेको जमात बढेको उनले बताए ।उनले भने,‘अहिले बैंकको ऋण खाएर सिस्ता तिर्न नसक्दा नेपाल नै जिम्मा लगाउनुपर्छ भन्ने, गाडी सस्तोमा किन्नुपयो भने पनि त्यही भन्ने जनशक्ति तयार भएको छ । अहिले यो मुलुकमा यो सबै स्थिति उचित शिक्षा दिन नसकेको कारण हो ।’
उनले रक्षा मन्त्रालयका कामहरु सार्वजनिक नभए पनि प्रगति भने धेरै भएको जिकिर गरे । विगतका दिनहरुमा भएका खुट्टा अल्झाउने व्यवस्थालाई लिएर वर्तमान समयमा समेत प्रश्न उठ्ने गरेको उनको गुनासो छ ।उनले भने,‘अहिले वास्तवमा भएको कामको जानकारी नभएर हिजोका दिनहरुमा भएका जुन विभिन्न किसिमका खुट्टा अल्झाउने व्यवस्थाले गर्दा अल्झिएको थियो । त्यो अल्झिएको व्यवस्थालाई लिएर प्रश्नहरु उठिरहेको अवस्थामा भएका कामहरुको जानकारी भएको छैन ।
हामीले काम गर्दै कहाँ कहाँ ठेस लागे खुट्टाहरु अल्झिए त्यो विषयमा पनि धेरै जानकारी भएको छ । र प्रगति भएका कुराहरु बाहिर धेरै आएको छैन । किनकी हल्लाहरुमा विभिन्न किसिमको विकृतिहरु आउने गर्छन् ।’उनले गाउँ गाउँमा अहिले लागुऔषधको डढेलो लागेको भन्दै जसकोे नियन्त्रण सरकारले पनि गर्न नसक्ने स्थिति सृजना भएको बताए । गाउँमा एउटा योग्य र सज्जन मान्छे बस्न अब नसक्ने स्थिति रहेको भन्दै यो पुस्ताले देशलाई कहाँ पुयाउने भन्ने चिन्ताको विषय रहेको उनको भनाइ छ ।
उनले भने,‘वन डढेलो लागेको त सेनाले गएर निभाउन सकिन्छ तर गाउँ गाउँमा अहिले लागुऔषधको डढेलो लागेको छ । त्यो लागुऔषधको डढेलो लागेका चाँहि कसैले सकिँदो रहेनछ । नेपाली सेनाले पनि त्यो लागुऔषधको डढेलो निभाउन सकिँदेन । एउटा योग्य सज्जन मान्छे बस्न अब नसक्ने स्थिति छ । यो जेनेरेसनले देशलाई कहाँ पु¥याउने हो ? त्यसैले त्यस्तो कार्यबाट हामीले जोगाउन जरुरी छ ।’