• २०८३ असार १५
  • 2026 June 29, Monday

कम्युनिष्टहरु नै कम्युनिष्ट सिध्याउन लागिपरेका छन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै लागि परेको आरोप लगाएका छन् ।

आइतबार पार्टीले आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’अन्तरक्रिया कार्यक्रममा उनले अध्यादेश ल्याएर एकीकृत समाजवादी पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर जसपाका दोस्रो तारो बनाएको बताए ।

उनले भने,‘यहाँ कम्युनिस्ट भनिएकाहरु नै कम्युनिस्ट विरोधी भइरहेका छन् । कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ । अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउन लागेका छन् । त्यसैले हाम्रा मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जनता समाजवादी पार्टीलाई जुन स्थानमा पुर्याउन काम भयो दोस्रो तारो हामी बनिरहेका छौं ।

यथार्थलाई बुझ्न सकेनौं भने गफले मात्र केही हुने वाला छैन् ।’उनले युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसक्ने तर्क गरे ।नेपालले एक दलीय शासनले समाजवाद स्थापित हुन नसक्ने टिप्पणी पनि गरे । उनले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो कुरा भएको बताए । पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धाहरु र युवालाई आकर्षण गर्ने मूल काम भएतापनि युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए ।

उनले भने,‘अहिलेको अवस्थालाई विश्लेषण पार्टीलाई जोगाउन, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, संगठन बलियो बनाउने कुरा दोस्रो हो। । पार्टीलाई सशक्त बनाउन,नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो । भ्रष्टाचारमा चुलु्म्म डुब्ने,जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’