• २०८३ जेठ २५
  • 2026 June 08, Monday

बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा

काठमाडौं । बागमतीस्तरीय प्रदेश श्रमाधान रोजगार मेला मंगलबार र बुधबार ललितपुरस्थित पाटन क्याम्पसमा हुने भएको छ ।

आफ्नो क्षमता र योग्यताअनुसारको रोजगारीको खोजीमा रहेकालाई काम र कामदार चाहिएका रोजगारदातालाई जोड्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा आयोजना गरेको मेला बागमतीमा पनि हुन लागेको हो । जेठ १७ गतेदेखि सुरु मेला ३० गते समापन हुँदैछ ।

बागमती प्रदेश रोजगार मेला समितिले सोमबार पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जनाएको छ । मेला पाटन क्याम्पसको हलमा मंगलबार बिहान १० बजेदेखि सुरु हुनेछ ।
बागमती प्रदेश रोजगार मेला संयोजक डम्बर बहादुर सुनुवारले स्वदेशमा नै केही गर्न सकिन्छ भनेर यो मेला एउटा कोसे ढुंगा साबित हुन सक्ने बताए ।

उनले भने, ‘श्रमसँग जोडिएका सबै सम्भावना, अवसर र चुनौतीहरुलाई कहाँ कसरी जोड्नु पर्छ र नेपालको आन्तरिक रोजगारीलाई कसरी व्यवस्थित गर्नपर्छ भन्ने विषयलाई केन्द्रमा राखेर सम्पूर्ण आयामहरुलाई जोड्दै हामीले पूर्वबाट सुरु गर्दै भोली बागमती प्रदेशमा बिट मार्ने हाम्रो तयारी हो ।’

देशमै केही गर्छौ भन्ने युवा शक्तिहरुलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको उनले बताए ।मेलाका लागि हरेक प्रदेशमा दुई दुई दिनको समय निर्धारण गरेर थालिएको हो । जेठ १७ गते कोशी प्रदेशबाट सुरु भएको मेला बागमती प्रदेशमा अन्तिम हुनेछ ।

कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २०, गण्डकी प्रदेशको पोखरामा २१ र २२, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते आयोजना गरिएको थियो ।