• २०८३ असार १५
  • 2026 June 29, Monday

योगबाट तनाबमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुने बताएका छन् । शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले योगलाई जीवन पद्धति बनाउन आह्वान गरे ।

‘योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो । योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुन्छ ।

यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त हुने र आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोयाउँछ । योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुयाउँछ भन्ने मलाई लाग्दछ ।’

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्ने भन्दै राष्ट्रपति पौडेलले भौतिक विकास गरी सुख प्राप्त गर्ने आकांक्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्थाबारे चिन्ता समेत व्यक्त गरेका छन् ।