‘प्रचण्ड’ ले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् ।

बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका थिए ।

राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो । प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ ।