
काठमाडौं । गल्कोट समाज जापानले आठौँ अधिवेशन आउँदो ३० जुलाई मंगलबारका दिन टोकियोमा गर्ने भएको छ।
नेपालमा मिनी नेपाल लगायत विभिन्न नामले चिनिने बाग्लुङ जिल्लाको ऐतिहासिक पृष्ठभूमि बोकेको गल्कोट र गल्कोटबाट कर्मभूमि जापान बनाउनु हुने सम्पूर्ण जापानवासी गल्कोटेहरुको साझा संस्था गल्कोट समाज जापान हो ।
समाजले गलकोटे मनहरूलाई जोड्दै भातृत्वको भावना विकास गराइ जापानमा रहेका गलकोट क्षेत्रबाट आइ विभिन्न पेशा व्यवसाय अध्ययनलगायतका अन्य क्षेत्रमा क्रियाशील रहेकाहरूलाई जापानमा सिकेको सीप ज्ञान र लगानीलाई जन्मभूमिमा लगाउन उत्प्रेरित गर्दै आइरहेको अध्यक्ष कालिका थापाले बताइन्।
गलकोट समाज जापानले गलकोटको लोकप्रियता र प्रसिद्धिलाई स्थापित गर्न, हरेक गलकोटे तथा आम नेपालीहरूमा सकारात्मक र सहयोगात्मक धारणाको विकास गर्ने उद्देश्यले स्वदेश तथा विदेशमा रहने गलकोटेहरुलाई आइपरेका समस्या तथा अप्ठ्यारोमा परेकालाई सहयोग पुर्याउँदै आएको छ । समाजलाई सकारात्मक दिशामा लैजान प्रोत्साहित गर्न सहयोग पुर्याउने हेतुले संस्थाद्वारा विभिन्न समयमा समुदायलाई सहयोग पुग्ने कार्यमा निरन्तर लागिरहेको महासचिव लक्षुमण कार्कीले बताए।
निर्वाचन सम्पन्न गर्न समाजका संरक्षक मोहन खत्रीको संयोजकत्वमा ५ सदस्यको निर्वाचन समिति समेत चयन गरिएको छ । निर्वाचन समितिले आफूलाई प्रदान गरेको जिम्मेवारीलाई पूरा गर्नका लागि आवश्यक गृहकार्यको सुरुवात गरेको निर्वाचन समितिका संयोजक तथा समाजका संरक्षक खत्रीले बताए।
गल्कोट समाज जापानले आठौँ अधिवेशन जुलाई ३० तारिख मंगलबारका दिन टोकियोको ( Shinkamata 1 Chome-18-16 Shinkamata, Tokyo 144-0054 ) मा उपस्थित हुन जापानबासी सम्पूर्ण गल्कोटेहरुलाई प्रवक्ता दिलिप कँडेलले अनुरोध गरेका छन्।
समाज ‘हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध गराऔँ’ भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी गलकोट क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुर्याउने उद्देश्यले सन् २००६ मा स्थापना भएको हो।