अध्ययनमा अब्बल आरजुको शिरमा नेपालको ‘विदेश मामिला’

काठमाडाैं । केपी शर्मा ओली नेतृत्वकाे सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा परराष्ट्र मन्त्री बनेकी छन् । उनी पहिलो पटक मन्त्री भएकी हुन् ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापतिसमेत रहेकी राणा विभिन्न संस्थामार्फत समाजसेवा पनि गर्दै आएकी छिन् ।

वि.सं. २०१८ माघ १३ गते ललितपुरमा जन्मिएकी आरजु राणा देउवा अहिले ६२ वर्षकी भइन् । राणा परिवारमा जन्मेहुर्केकी उनी सानैदेखि मेहनती र अध्ययनशील थिइन् ।

आरजु राणाकी आमा प्रतिभा राणा राजनीतिमा क्रियाशिल छिन् । प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा जापानको लागि राजदूत बनेकी थिइन् । उनको राजनीतिक छविले होला कांग्रेस नेतृ आरजुले पनि राजनीतिमा रुचि राखिन् ।

तथापि श्रीमान पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको उत्प्रेरणाले आफू राजनीतिमा सक्रिय रहेको उनी बताउँछिन् ।

उनको र कांग्रेस सभापति देउवाको विवाह वि.सं. २०५१ सालमा भएको हो । कांग्रेस सभापति देउवासँग बिहे बन्धनमा बाँधिएकी राणाको स्थायी ठेगाना डडेलधुरा हो । हाल उनी बुढानिलकण्ठमा बस्दै आएकी छिन् ।

राणाले पद्मकन्या कलेजबाट स्नातक तहसम्मकाे अध्ययन गरिन् भने भारतकाे पञ्जाब विश्वविद्यालयबाट स्नातकोत्तर र त्यहीँबाट मनोविज्ञान विषयमा पीएचडीसम्मकाे अध्ययन गरेकी छन् ।

वि.सं. २०५३ सालदेखि नेपाली कांग्रेसको सदस्य हुँदै राणा केन्द्रीय समितिको सदस्य र महासमिति सदस्य बनेकी छिन् । उनी वि.सं. २०६४ देखि वि.सं. २०७४ सम्म दुई पटक नेपालको संविधानसभा र नेपालको व्यवस्थापिका संसदको सदस्य थिइन् ।

उनले नेपालको संविधान लेख्दा सबै तहमा महिलाको हक, विशेषगरी प्रजनन् अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा, महिलाको समतामूलक र समान राजनीतिक प्रतिनिधित्व जस्ता विषयलाई उठान गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय सम्बन्धका लागि महत्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी अहिले राणाकाे काँधमा पुगेको छ ।

साेमबार दिउँसो पदभार ग्रहण गरेपछि आरजुले नेपाल कसैको पराधीन भएर नबसेको र यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताएकी थिइन् । उनले भनिन्, ‘यो इतिहास हामीले अब आउने पिँढीका लागि कायम राख्नुपर्छ । यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो ।’

राजनीतिक पृष्ठभूमिमा हुर्किएर पति शेरबहादुर देउवाकाे पदचाप पछ्याएर राजनीतिमा होमिएकी राणा नेपाली कांग्रेसबाट आगामी दिनमा अझ शीर्षस्थ तहमा पुग्ने निश्चित नै छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१