• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

मर्स्याङ्दी दुर्घटनामा घाइते १६ भारतीयमध्ये ७ जना डिस्चार्ज

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ मध्ये सात जनालाई आज डिस्चार्ज गरिएको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटनामा परेको थियो ।

घाइते १६ भारतीय पर्यटकको दूतावासका चिकित्सक र महाराजगंज स्थित टिचिङ अस्पतालका चिकित्सक टोलीको निगरानीमा उपचार भएको थियाे।

अस्पतालका डा. रोहित सिंहले भने, “बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएकामा आज सातजनालाई डिस्चार्ज गरेका छौँ, बाँकी नौ जनाको अस्पतालमै उपचार भइरहेको छ, सबैको अवस्था सुधारोन्मुख छ ।”

आज डिस्चार्ज हुनेमा ५६ वर्षीया भारती पाटील, ४२ वर्षीया बर्षाभंगाणे, ७० वर्षीया कुमुदिनी झाम्रे, ४९ वर्षीया रुपाली सरोदे, ५९ वर्षीय हेमराज सरोदे, ४५ वर्षीया निलिमा भिरुड, ६५ वर्षीय सुनिल धाण्डे रहेको अस्पतालले जनाएको छ ।

बाँकी नौ घाइतेमध्ये चारजनाको आईसीयूमा उपचार भइरहेको छ । हाल ५१ वर्षीय प्रविन पाटील, ५३ वर्षीय अविनास पाटील, ५९ वर्षीय अनन्त इङ्णे, ४७ वर्षीया सिमा इङ्णे, ५८ वर्षीया आशा बोण्डे, ६२ वर्षीय नैनेश्वर बोण्डे, ५० वर्षीया शारदा पाटील, ४७ वर्षीया रेखा सुरवाडे तथा ५८ वर्षीया आशा पाटील उपचाररत रहेको अस्पतालले जनाएको छ ।

डा सिंहले भने, “घाइतेहरु अधिकांशको हात, खुट्टा, निधार, टाउको, छाती, ढाडलगायतका ठाउँमा गहिरो चोट लागेको छ, उनीहरुको अवस्था सुधारोन्मुख छ ।”

उपचार गराइरहेका ५९ वर्षीय अनन्त इङ्णेले आफूहरूको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताए । “हामीले राम्रो उपचार पाएका छौँ, समयमै राम्रो उपचारका कारण हाम्रो ज्यान बच्यो, सबैलाई धन्यवाद छ ।”

दुर्घटनामा २७ भारतीय पर्यटकले ज्यान गुमाएका थिए । मृत्यु भएकाहरूको शव परीक्षण गरी भारतीय वायु सेनाको जहाजमार्फत भारत लगिएको छ ।

दुर्घटनामा मृत्यु भएकाकाे शव भारतीय वायु सेवा निगमकाे जहाजमार्फत भारत लगिसकिएकाे छ । उक्त शव लिन र घाइतेकाे अवस्था बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से नेपाल आएकी थिइन् ।