काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट साधारण सदस्य समेत नरहने गरी निष्कासन भएपछि मुकुल ढकालले रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार रास्वपाको केन्द्रिय समितिको बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् भन्दै पुनः रवि लामिछानेमाथि नैतिकताकै प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् । ‘‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।
र अर्को कुरा ,
सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’’
पार्टीबाट किन निष्कासन नगर्ने भन्दै रास्वपाले ढकाललाई दुई पटक २४ घण्टे स्पष्टीकरण सोध्दा पनि ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए।
ढकालको उक्त जवाफपछि मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहनेगरि निष्काशन गरेको पार्टी सहप्रवक्ता मनिष झाले बताए ।
