• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

शनिबार बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ ।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।