युवा अभियन्ता अर्याललाई राष्ट्रिय नागरिक पुरस्कार

काठमाडौं । राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल सम्मानित भएका छन् । नागरिक समूहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा अभियन्ता अर्याललाई पुरस्कृत गरिएको हो ।राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अभियन्ता अर्याल पुरस्कृत भएका हुन् । अर्याल अध्यक्ष रहेको ग्लोबल युथ पालिर्यामेन्टमा हाल ८६ देशमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् ।

युवा अभियानमार्फत् विश्वभरका युवालाई जोड्न एक दशकभन्दा लामो समयदेखि क्रियाशील अर्याललाई उनको योगदानका लागि सम्मान गरिएको नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले बताए ।यसअघि यसै सम्मानबाट पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपरथि रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रूइतलाई सम्मानित गरिएको भन्दै हुमागाईंले युवा अभियानमार्फत् नेपाललाई विश्वसँग जोड्ने देशभक्त अर्याललाई सम्मान गर्न पाउँदा आफूहरू कृतज्ञ बनेको बताए ।

तीन सदस्यीय निर्णायक समितिका तर्फबाट मन्तव्य राख्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ग्लोबल युथ पार्लियामेन्टमार्फत् विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनौट गर्न पाउँदा आफूहरूलाई गर्व लागेको बताए । छनौट समितिमा अधिकारीसहित अध्यक्ष हुमागाईं र रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व एसिष्टेन्ट गभर्नर सुलोचना सिग्देल रहेका थिए ।सम्मेलनलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले योग्य सम्झेर सम्मान गरेबाट युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए । युवा अभियानलाई समाजप्रति योगदान दिनसक्ने र देशलाई विश्व रंगमञ्चमा चिनाउने बनाउने लक्ष्यलाई यसबाट बल मिलेको अर्यालले उल्लेख गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१