• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

छठको दोस्रो दिन आज खरना मनाइँदै

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो ।सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ ।

शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ । सन्ध्याकालीन अघ्र्य दिनुभन्दा एक दिनअघि हुने खरनामा ब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाइधुवाइ गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन् ।गाइको गोबरले लिपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर ब्रतालुहरु पूजापाठ गर्ने गर्दछन् । खरनाका दिन घरका सबै सदस्य तथा छिमेकीहरु जम्माभई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

खरना दिनदेखि ब्रत बसेका ब्रतालुहरुले सप्तमी तिथीको दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ । खरनालाई छठ पर्वको मुख्य विधिको रूपमा लिइन्छ ।खरनामा प्रसादको रूपमा विशेषतः केरा र सख्खरमा तयार पारिएको खीर रहने गरेको छ । खरना तथा छठ पूजाका लागि सामग्री तयार गर्दा शुद्धतालाई विशेष ध्यान दिइने गरिन्छ। पूजन सामग्री शुद्ध नभए अनिष्ट हुने जनविश्वास रहेको छ ।सूर्य उपासना गर्ने संसारमा छठ एकमात्र यस्तो पर्वहो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ। खरनापछि तेस्रो दिन साँझ दिइने अघ्र्यका लागि ब्रतालुहरू रातिबाटै पूजन सामग्री तयार गर्न जुट्दछन् ।चामल र गहुँको पिठोले तयार पारिने ठेकुवा, भुसुवा, खजुरका साथै केरा, उँखु, स्याउ, नरिवललगायतका फलफूल छठ पर्वको प्रमुख प्रसादको रुपमा रहेका छन् ।