कम्तीमा १२४ जनाको मृत्यु, दुई बच्न सफल मुआन विमान दुर्घटनामा

काठमाडौ। दक्षिण कोरियाको दक्षिणपश्चिमी मुआन जिल्लामा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२४ जनाको मृत्यु भएको छ भने दुई जना बच्न सफल भएका छन् ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका दुई सदस्य मात्र बाँच्न सफल भएका हुन । विमानमा १८१ जना सवार रहेकोमा ६ जना चालक दलका सदस्यसमेत थिए । उद्धार कार्य जारी छ । दुर्घटनामा बाँचेकालाई उपचारका लागि अस्पताल पुयाइएको छ । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटना बिहान ९ः०७ बजे भएको हो ।

दुर्घटनामा परेको बोइङ ७३७–८०० विमान बैंककबाट राति १ः३० बजे प्रस्थान गरेको थियो र बिहान ८ः३० बजे मुआन पुग्नुपर्ने थियो ।दक्षिण कोरियाका स्थानीय टेलिभिजनहरूले देखाएका भिडियोहरूमा विमान अवतरणका क्रममा यसको ल्यान्डिङ गियर नखुलेको देखिन्छ । विमान धावनमार्गमा चिप्लिएर ठोस पर्खालमा ठोक्किएको थियो । ठोक्किएपछि आगो लागेर विस्फोट भएको देखिन्छ ।अधिकारीहरूले दुर्घटनाको कारण ल्यान्डिङ गियर बिग्रिनु, सम्भवतः चरा ठोक्किनु हुनसक्ने अनुमान गरेका छन् ।

घटनाको विस्तृत अनुसन्धान गर्न टोली खटाइएको छ । दक्षिण जोल्ला प्रान्तका अधिकारीहरूले उच्च आपतकालीन सतर्कता जारी गर्दै सबै उपलब्ध उद्धारकर्मी र प्रहरीलाई घटनास्थलमा परिचालन गरेका छन् । कार्यवाहक राष्ट्रपति चोई सङ–मोकले मुआनलाई विशेष विपद् क्षेत्र घोषणा गरेका छन् । उनले घटनास्थलमा पुगेर खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन । प्रहरी, उद्धार टोली र अन्य सम्बन्धित निकायहरूबीच समन्वय गर्न राष्ट्रपतिको कार्यालयले आपतकालीन बैठक बोलाएको थियो ।जेजु एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किम ई–बाएले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । ‘कारण जेसुकै होस्, यो घटनाको पूर्ण जिम्मेवारी म लिन्छु,’ किमले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१