चीनमा फैलियो नयाँ भाइरसकाे संक्रमण, साना बालबालिका बढी प्रभावित

काठमाडाैं । चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ । नयाँ भाइरसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन् । यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो ।

भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन् । यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परिरहेकाे समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरिरहेका छन् ।

चाइनाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (CDC) का अनुसार यसका लक्षणहरू खोकी, ज्वरो, नाक बन्द हुने र घाँटी घ्यारघ्यार हुने रहेकाे छ । HMPV बाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड-१९ को केसहरू पनि बढीरहेकाे छ । जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको बताइएकाे छ ।

सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ । तर, चीनले भने त्यस्तो कुनै जानकारी दिएको छैन ।

खोक्दा र हाछ्युँ गर्दा याे भाइरस सर्ने जोखिम उच्च हुन्छ । यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्ने बताइएकाे छ । रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ ।

HMPV भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो । एक जना डच अनुसन्धानकर्ताले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकाको नमूनामा यो भाइरस पत्ता लगाएका थिए ।

यो भाइरस सबै प्रकारका मौसमी वातावरणमा पाइन्छ तर जाडोमा यसको फैलने जोखिम सबैभन्दा बढी हुन्छ ।

यसअघि कोभिड-१९ को पहिलो केस सन् २०१९ मा चीनको वुहान सहरमा भेटिएको थियो । त्यसपछि यो भाइरस विश्वमा तीव्र रूपमा फैलियो र २०२० को जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । यही महामारीका कारण विश्वमा ७० लाखभन्दा बढीको मृत्यु भइसकेकाे छ । एजेन्सी

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१