• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कथा लेख्न थालेको चार वर्षपछि ‘लाज शरणम्’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ ।

‘लाज शरणम्’ ले कर्णालीका आम नागरिकको कथा भन्ने उनले बताए । उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाइने उनी बताउँछन् ।डार्क कमेडी फर्ममा कथा भन्ने उनले प्रष्ट पारेका छन् । ‘डार्क ह्युमर कमेडी फर्मममा कसरी हसाउँदा हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले सिनेमाको यो कथा भनेका छौँ,’ अर्जुन भन्छन्, ‘हामीले हाम्रो करियरको यो लामो समय टेलिचलचित्रमार्फत दर्शकलाई हसायौँ । अब सिनेमामार्फत हसाउने प्रयास गर्दैछौँ ।’

टेलिचलचित्रमा जस्तै चलचित्रमा पनि दर्शकको साथ रहनेमा आफूहरू ढुक्क रहेको उनी बताउँछन् ।
‘सक्किगोनि’का अरु कलाकार फरकफरक लुक्स र चरित्रमा देखिए पनि ‘लाज शरणम्’मा अर्जुन भने पाँडेकै चरित्रमा देखिनेछन् । दर्शकले अहिले आफूलाई यही क्यारेक्टरमा मन पराइरहेकाले यही सिनेमामा पनि राखिएको उनको भनाइ छ ।अहिले अरु क्यारेक्टर चलचित्रमा गरे पनि पाँडेले अर्कै क्यारेक्टर गरेछ भनेर दर्शकले भन्ने अवस्था रहेकाले यही नै सिनेमामा रहेको उनी बताउँछन् । छोटो तर प्रभाकारी चरित्रमा आफू रहेको अर्जुनले सुनाए ।

‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता पनि हुन् । कुमार कट्टेल (जिग्री) लेखक तथा निर्देशक हुन् । पोस्टर र टिजर दुवै दर्शकले मन पराउँदा सिनेमाले पनि मन जित्नेमा निर्माणपक्ष ढुक्क छ ।‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस)सँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’लगायत कलाकार छन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।