• २०८३ असार ९
  • 2026 June 23, Tuesday

जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले माओवादीलगायतका दललाई ‘तपाईँहरु मान्छे नमारी, तोफोड नगरी आएको हो ?’ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि टिक्न सक्दैन । गणतन्त्र जान्छ । त्यसकारण जनताको, युवाको शक्तिलाई होच्याउने काम नगर्नुस् । चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस, एमाले भन्नेहरु आज यो सत्तामा भजन–किर्तन मादल बजाउँदै आइपुगेको हो ? तपाईंहरु तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? त्यसकारणले सविन महर्जन हिँडिरहेको बेला गोली किन हानियो, छतमाथि बसेर अश्रुग्यास किन प्रयोग गरियो ? त्यसको जवाफ चाहिन्छ ।’साथै उनले गणतन्त्रवादी नेताहरुले व्यवस्थाको नाममा लुट मच्चाइरहेको आरोप लगाएका छन् । उनले किर्ते कुराले अबको युवा पुस्ता नमान्ने बताए ।

उनले भने,‘कथाले, शब्द जालले अबको पुस्ता मान्नेवाला छैनन् । तपाईँको मिथ्याङ्कले, मिथ्या इतिहासले अबको पुस्ता मान्नेवाला छैनन् । अहिलेको डिजिटल युवा, अहिलेको सूचना प्रविधिका युवा यसबाट राम्रो परिचित छ । तपाईँले राजा किन हटाउन खोज्नु भएको रहेछ, राजा हटाएपछि नारायणहिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो ? के–को लागि तपाईँले राजा हटाउनु भएको रहेछ, युवा पुस्ताले हेरिरहेको छ । राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मच्चाइरनु भएको छ ? जनताले हेरिरहेका छन् । तपाईँको किर्ते कुराले अबको युवा पुस्ता मान्दैनन् ।’