काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद मनिष झाले चैत्र १५ गतेको राजनीतिक घटना मात्र नभई राजनीतिक घटनाक्रम भएको बताएका छन् ।
सोमबार संसद बाहिर उनले अस्तिको घटनाक्रमबाट धेरै कुराको सुरुवात पनि हुन सक्ने भन्दै यसलाई गम्भिरता पूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गरेका छन् ।उनले भने, ‘प्रधानमन्त्रीले १०, १५ हजार आउदै जादैँ गर्छन् भन्दै गर्दा अस्ति ४ हजार पनि सम्हाल्न सक्नु भएन् । यो एउटा हामीले बुझ्नु पर्ने, राजनीतिक घटना र घटनाक्रम फरक कुरा हो । अस्तिको घटना मात्र होइन्, घटनाक्रम हो त्यसबाट धेरै कुराको सुरुवात पनि हुन सक्छ ।
त्यसैले यसलाई गम्भिरता पूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गर्दछौ ।’यसको साथै, उनले उक्त घटना संविधान र कानूनको दायराभन्दा बाहिर गएर भएको भन्दै त्यसमा रास्वपाको समर्थन नभएको बताए । उनले भने, ‘चैत्र १५ गते भएको घटना संविधान र कानूनको दायराभन्दा बाहिर गएर भएको छ र त्यसलाई हामी स्विकार गर्दैनौ, हाम्रो समर्थन पनि छैन् । दोस्रो कुरा यसको छानबिन गरियोस् भनेर सचिवालय बैठकबाट निर्णय गरेका छौ र तेस्रो आज सदनमा बोल्दै गर्दा पनि यसको स्पष्ट छानबिनको माग गरेको छु । यसमा राज्य र गृह प्रशासनको तर्फबाट जुन तयारी हुनुपर्ने थियो, त्यो भएन भन्ने कुरा स्वंम आज प्रधानमन्त्रीले सदनमा स्विकार गर्नु भईसकेको छ । त्यो कमजोरी प्रधानमन्त्री आफैले स्विकार गरिसकेपछि त्यसमा धेरै कुरा गर्नै परेन् ।’