काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक खड्का नेतृत्वमा प्यानल विजयी भएको छ ।
मंगलबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार नेविसंघका खड्काले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका जगतजंग शाहीलाई २ सय ८० मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।खड्काले १ हजार १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९ सय ७ मत पाए। अन्य प्रत्याशी प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे ।
कुल ४ हजार ३ सय ८३ मतदाता रहेको मध्यपश्चिम विश्वविद्यालयका २ हजार ८ सय ६४ जनाले मतदान गरेका थिए । सचिवमा नेविसंघकै भूपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल निर्वाचित भएका छन् ।सदस्यतर्फ पनि नेविसंघकै विकासकुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह विजयी भएका छन् ।मध्यपश्चिम विश्वविद्यालय स्थापनापछि भएको पहिलो स्ववियु निर्वाचनमा पनि नेविसंघकै झक्क शाही विजयी भएका थिए ।