• २०८३ असार ९
  • 2026 June 23, Tuesday

पत्रकार रायलाई मेयरका छोराको धम्की, अदालतमा मुद्दा दर्ता

काठमाडौ । सिरहाका पत्रकार राहुल रायले सिरहा जिल्ला अदालतमा विहीबार गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठका छोरा तथा युवा संघ नेपालका केन्द्रीय सदस्य सुमित श्रेष्ठलाई प्रतिवादी बनाएर रायले मुद्दा दर्ता गराएका हुन् ।

उनले फिराद पत्रमा गत ११ गते चैतमा प्रतिवादी श्रेष्ठले मध्यरातमा फोन गरेर तथानाम अश्लिल अपशब्दहरु प्रयोग गर्दै गाली बेइज्जती गरेको र धम्की समेत दिएकाले अन्यायमा परेको उल्लेख गरेका छन् ।
उनले निर्धो ठानेर हेपेर आफुलाई गाली बेइज्जती गरेकाले प्रतिवादी श्रेष्ठलाई कानून बमोजिम जेल सजाय र जरीवाना समेत हुनेगरी सजाय दिन माग गरेका छन् ।राय भन्छन्,‘म पत्रकारितामा प्रवेश गरेको छु।

कसैले वैधानिक अनलाइन समाचार पत्रमा लेखेको वा प्रकाशित गरेको समाचार शेयर गर्नु मेरो कुनै अपराध त होइन । अनि बिना कसुर मलाई मध्यरातमा फोन गरेर गाली बेइज्जती गर्ने यो कस्तो दादागिरी हो ? के कमजोरले समाजमा जीवित रहन र निर्भय भएर बाँच्न नपाउने, कानूनी राज्य कहाँ गयो ?’रायले आफुलाई न्यायालयप्रति आशा, भरोसा र विश्वास रहेको कारण न्याय माग्न गएको उल्लेख गरेका छन् । समाजमा आत्मसम्मानपूर्वक बाँच्न पाउने मेरो मानव अधिकार न्यायालयबाट प्रचलन हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।