सिवाईसी सहकारीले चैत्र २६ गते सहकारी पुराण गर्ने

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आगामी चैत्र २६ गते सहकारी पुराण/उत्सवको आयोजना गर्ने भएको छ । बिहीबार संस्थाको प्रधान कार्यालय बागलुङ बजारमा आयोजित पण्डित र धर्माचार्यहरूसँगको अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको १६ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको बताए ।

पछिल्लो समय नेपालको सहकारी र बैंक तथा वित्तीय संस्थाबाट ऋण लग्ने र नतिर्ने प्रवृत्ति देखिन थालेको तथा मानिसहरुमा नैतिक जिम्मेवारी घट्दै गईरहेको सन्दर्भमा संस्थाले सदस्यहरूलाई वित्तीय अनुशासन तथा जिम्मेवारीका बारेमा सचेत गराउन र सहकारीको महत्व तथा योगदानको बारेमा बुझाउन यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको पौडेलले बताए ।

पौडेलले धर्मका दृष्टिकोणबाट हेर्दा, ऋण नतिर्ने प्रवृत्तिलाई अनैतिक र गलत मानिने बताउँदै यसले व्यक्तिगत नैतिकता र जिम्मेवारीको कमीलाई जनाउने मात्र नभई समाजमा पनि अव्यवस्था र अशान्ति फैलाउने भएकाले संस्थाले सहकारी पुराण/उत्सव मार्फत सचेतना फैलाउन लागेको बताए ।

अन्तरक्रियाका क्रममा प्रमुख अतिथि शालिग्राम संग्राहलय कुँडुले फेदीका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यले हिन्दू धर्ममा व्यक्तिले जो कसैबाट ऋण लिए पनि ऋण चुकाउने कर्म उसको नैतिक कर्तव्य भएको उल्लेख भएको बताए । उनका अनुसार, ऋण नतिर्ने व्यक्ति आफ्नो कर्तव्यबाट भागिरहेको हुन्छ र त्यसले समाजमा असमझदारी र अव्यवस्था सिर्जना गर्न सक्छ । ऋण चुकाउने कार्यलाई धर्म र नैतिकताको एक भाग मानिने बताउँदै प्रपन्नाचार्यले उक्त कार्यले समाजको समृद्धि र शान्ति कायम राख्न समेत मद्दत पुर्‍याउने बताए ।

कार्यक्रममा उपस्थित पण्डित एवं धर्मचार्यहरुले, लिएको ऋण चुक्ता नगर्नाले केवल आर्थिक नोक्सान मात्रै होइन, आत्मिक र धार्मिक स्तरमा पनि नकारात्मक असर पुर्‍याउने बताए । पण्डित र धर्माचार्यहरूले ऋण चुकाउने कार्यलाई धार्मिक शिक्षा र संस्कारको प्रमुख अंशको रूपमा लिनुपर्ने बताउदै धर्मका दृष्टिकोणबाट, ऋण नतिर्नु भनेको आफ्नो शपथ र कसमलाई तोड्नु जस्तै भएको धारण राखेका थिए । यसबाट व्यक्तिगत कष्ट मात्र उत्पन्न हुने नभई समग्र समाजको नैतिकता र परस्पर विश्वास पनि कमजाेर हुने पण्डितहरुको भनाइ थियो ।

चैत्र २६ गते गर्न लागिरहेको कार्यक्रममा कुनै धार्मिक कार्यक्रमभन्दा पनि सहकारी शिक्षाको कार्यक्रम हने संस्थाले जनाएको छ । बागलुङ बजारस्थित राधाकृष्ण मन्दिरको सभाहलमा विहान १० बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि संस्थाले आफ्ना सदस्यहरुलाई आग्रह समेत गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता जेष्ठनागरिक उपसमिति सदस्य हरिप्रसाद उपाध्यायको स्वागत र प्रमुख कार्यकारी अधिकृत नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१