काठमाडौ। दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् ।
प्रसाईंसँगै उनी भारतको आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । दुबैजनालाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने बताइएको छ । बुद्ध एयरको उक्त फ्लाइटमार्फत उनीहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो। उनी बिहीबार भारतको आसाम राज्यमा फेला परेका थिए । यता, प्रसाईंको सचिवालयले भने आसाम प्रहरीले उनलाई आत्मसमर्पण गरेको दाबी गरेको छ ।
प्रसाईं १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर थिए । उनले नेतृत्व गरेको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। त्यसपछि प्रसाईं फरार भई भारत पुगेका थिए ।