काठमाडौ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रप्रति चिढाउँदै देश र जनताले दुःख भोगिरहेको बताएका छन्। उनले प्रधानमन्त्री ओलीको पद र पावरको दुरुपयोगको आरोप पनि लगाएका छन्।
आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भने, “गत बुधबार सिराहा पुगेका प्रधानमन्त्री ओलीले जसपा नेपालबाट निर्वाचित धनगढीमाई नगरपालिका-७ का वडाध्यक्ष विजय महतोलाई टिकामाला लगाएर नेकपा (एमाले) मा प्रवेश गराएका थिए।”
साहले प्रधानमन्त्री ओलीको दोहोरो व्यवहारको आलोचना गर्दै भने, “ओलीजी, तपाई एक पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आफैंको पार्टीमा प्रवेश गराउँदा खुसी हुनुहुन्छ, तर उही प्रधानमन्त्री ओलीले २०८० सालको असोजमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पदमुक्त गराएको कुरा कसरी बुझ्ने?”
उनले प्रश्न उठाए, “यदि विजय महतोको पार्टी प्रवेश वैध हो भने रिनाकुमारी साहको पदमुक्ति के हो?” साहले थप भने, “प्रधानमन्त्रीज्यू, अलिकति लाज र इज्जत राख्नुस्। तपाईँको दोहोरो चरित्रले देशलाई धेरै दुःख भोगाउन सकिरहेको छ। पद र पावरको आडमा जे पनि गर्ने काम बन्द गर्नुस्।”साहले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रधानमन्त्री ओली, तपाई कुन नैतिकताले मौलापुरका मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्नुभयो? यदि विजय महतोको पार्टी प्रवेश वैध हो भने रिनाकुमारी साहकी पदमुक्ति के हो?”