• २०८३ असार ८
  • 2026 June 22, Monday

राजावादी र प्रतिगामी शक्तिलाई सडकमै पराजित गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौ।  नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

शुक्रबार बुटवलमा आयोजित नेकपा एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दरबार समर्थक तथा राजतन्त्रवादी प्रवृत्तिहरूको लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास नभएको भन्दै तिनीहरूको विरुद्ध सशक्त प्रतिकार आवश्यक भएको उल्लेख गरे।

“राजतन्त्र समर्थक प्रतिगामी प्रवृत्तिको कुनै भविष्य छैन,” पौडेलले भने, “राजनीतिक दलहरूकै नेतृत्वमा देश अघि बढ्नेछ।”प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही प्रतिगामी र दक्षिणपन्थी समूहले निरन्तर प्रहार गरिरहेको आरोप लगाउँदै उनले ती प्रयासहरू सफल नहुने दाबी गरे। साथै, उनले हालका नयाँ राजनीतिक दलप्रति असन्तुष्टि जनाउँदै ती दलहरूमा स्पष्ट विचार, दृष्टिकोण र लक्ष्यको अभाव रहेको टिप्पणी गरे।

पौडेलले वर्तमान सरकार ठूला पूर्वाधार निर्माण, विकास र समृद्धिको अभियानमा केन्द्रित रहेको र भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे।कार्यक्रममा नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टी नेतृत्वमाथि भइरहेको आरोप-प्रत्यारोपको विरोध गर्दै पार्टीका सम्पूर्ण पंक्ति प्रधानमन्त्री ओलीको नेतृत्वमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याइन्।