• २०८३ असार ८
  • 2026 June 22, Monday

ओलीले विन्दालाई बोलाएरै भेटे, भने – ‘चिठी नै नभए केको कारबाही?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेलाई बोलाएर भेट गरेका छन्। नयाँ वर्षको शुभकामना दिने क्रममा सोमबार ओलीले डा. पाण्डेलाई फोन गरेर मंगलबार भेट्न आग्रह गरेका थिए।

ओलीको आग्रहअनुसार पाण्डे मंगलबार बालुवाटार पुगेकी थिइन्। करिब आधा घण्टा लामो भेटमा उनीहरूबीच पार्टी निलम्बनलगायत विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ।भेटका क्रममा पाण्डेले आफूले पार्टीको निलम्बनसम्बन्धी कुनै आधिकारिक पत्र नपाएको गुनासो राखेकी थिइन्। “न त चिठी आएको छ, न त निलम्बनको समयबारे जानकारी,” पाण्डेले भनिन्।

ओलीले त्यसप्रति आश्चर्य व्यक्त गर्दै भनेका थिए, “ए हो र! चिठी नै पाएको छैन? चिठी नै नपाए त कारबाही नै हुँदैन नि!” स्रोतका अनुसार ओलीले पाण्डेले नेतृत्व गरेको विभागको कामको समेत प्रशंसा गर्दै “अहिले बरु त्यो हुन सकेन” भनेका थिए।पाण्डेले ओलीसँगको भेटमा आफूले लेखेको पुस्तक भुइँमान्छे हस्तान्तरण गरेको पनि बताइन्।गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले डा. पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो। त्यसै बैठकले पूर्व उपाध्यक्ष डा. भीम रावललाई भने साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो।