काठमाडौँ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को छैटौँ राष्ट्रिय महाधिवेशनले विनोद पाण्डेलाई अध्यक्षमा चयन गरेको छ। काठमाडौँमा सम्पन्न महाधिवेशनबाट पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी, उपमहासचिवमा तीर्थराज घिमिरे, संगठन सचिवमा केदारप्रसाद देवकोटा, विदेश विभाग सचिवमा नारायणबहादुर श्रेष्ठ, प्रचार विभाग सचिवमा ध्रुवराज कार्की, र अर्थ सचिवमा चन्द्रकुमार महतरा निर्वाचित भएका छन्।
महाधिवेशनले विभिन्न आयोगहरूको पनि चयन गरेको छ। लेखा आयोगको अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा, र सल्लाकार आयोगमा रवीन्द्र कार्की चयन भएका छन्। यस महाधिवेशनबाट ९९ सदस्यीय कार्यसमिति गठन भएको छ।
महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त समाजमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको आवश्यकता औँल्याउँदै नेपोन जस्ता संस्थाहरूले देश र पार्टीप्रति विश्वास बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। रक्षामन्त्री मानवीर राईले देशको सुरक्षामा जीवनको ऊर्जाशील समय खर्चिएका भूतपूर्व सैनिक तथा प्रहरीप्रति सम्मान प्रकट गर्दै विपद्का समयमा उनीहरूको भूमिका प्रशंसनीय रहेको बताए।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले नेपोनलाई भूतपूर्व सुरक्षाकर्मीहरूको साझा चौतारीका रूपमा चित्रित गरे।नवनिर्वाचित अध्यक्ष पाण्डेले राष्ट्रको सुरक्षामा योगदान पुर्याउने भूतपूर्वहरूको अनुभव र क्षमतालाई अब सुरक्षा र विकासमा समन्वय गरिने प्रतिबद्धता जनाए। उनले सामाजिक मूल्य, राष्ट्रिय सार्वभौमिकता, र स्वाधीनतालाई संरक्षण गर्दै संस्था अगाडि बढ्ने बताए। पाण्डे अवकाशप्राप्त सहायक रथी हुन् र २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए।