काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका शीर्ष नेताहरूसँग भेट गर्दै पछिल्ला राजनीतिक गतिविधिबारे गम्भीर संवाद गरेका छन्। शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतासँग निर्मल निवासमा आयोजित ‘लन्च मिटिङ’मा देशको वर्तमान अवस्था, तीनकुने प्रदर्शन र राजसंस्थासम्बन्धी विषयहरूमा विस्तृत छलफल भएको हो।
राप्रपाका नेताहरूका अनुसार भेट औपचारिक शुभकामनाको रूपमा भए पनि वार्ता पूर्ण रूपमा राजनीतिक विषयमा केन्द्रित थियो। सहभागी नेताहरूका अनुसार पूर्वराजाले तीनकुने प्रदर्शनको हिंसात्मक मोडप्रति चिन्ता व्यक्त गर्दै, “हामीले सत्ता छाड्दा पनि मान्छे नमरुन् भनेर शान्तिपूर्ण ढंग अपनाएका थियौँ, अहिले पनि आन्दोलन शान्तिपूर्ण हुनुपर्छ,” भन्ने धारणा राखेका थिए।
तीनकुने घटनाबारे जिज्ञासा राख्दै पूर्वराजाले “किन हिंस्रक बन्यो ?” भनेर नेताहरूलाई प्रश्न गरेका थिए। उनले आन्दोलनमा सहभागी युवाहरूलाई ‘नेपाली आमाका छोराछोरी’ भन्दै सुरक्षा बलमाथि आक्रोश पोख्न नहुने धारणा राखेका थिए।राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पूर्वराजासँग भेटका लागि निर्मल निवास पुगेका थिए। भेटमा नवराज सुवेदी नेतृत्वमा बनेको आन्दोलन समिति, दुर्गा प्रसाईंको संलग्नता, र आन्दोलनको नेतृत्वबारे समेत चर्चा भएको थियो।
पूर्वराजाले आन्दोलन समिति आफूसँग समन्वयबिनै गठन गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। “हामीले कहिले बनायौँ नवराज सुवेदीलाई? यस्तो केही भनेको पनि छैन,” भन्दै आफू अनविज्ञ रहेको प्रस्ट पारेका थिए। उनले दुर्गा प्रसाईंसँग तीनकुने आन्दोलनअघि कुनै भेट नभएको र प्रसाईंले केवल सचिवहरूलाई मात्र भेटेको बताएका थिए।विशेष गरी केही नेताहरूले आफ्नो नाममा राजनीति गर्न खोजेकोप्रति पूर्वराजाले गुनासो गरेका थिए। राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र लगायतको संलग्नतामा आन्दोलन परिचालन समिति बनाइएकोमा निर्मल निवासको चासो देखिएको स्रोतको दाबी छ।पूर्वराजाले शान्तिपूर्ण आन्दोलनमा जोड दिँदै राप्रपाका नेताहरूलाई प्रहरीमाथि आक्रोश पोख्नुभन्दा ‘गुलाफको फूल दिन’ सुझाव दिएका थिए।
“पुलिसलाई गुलाफको फूल दिनू, प्रहरी त हाम्रै दाजुभाइ हुन्। मान्छे मारेर आएको व्यवस्था कहिल्यै सही हुँदैन,” उनको भनाइ थियो।राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार, भेटमा पूर्वराजाले देशमा बढ्दो बेरोजगारी, गरिबी, धर्म संस्कारको ह्रास र सामाजिक अविश्वासप्रति चिन्ता व्यक्त गरेका थिए। लिङ्देनसँगको संवादमा उनले, “नेपालमा कोही छैन, सबै विदेश गएका छन्। यस्तो अवस्थामा मुलुक कसरी अघि बढ्छ?” भन्ने गम्भीर प्रश्न गरेका थिए।लिङ्देनले त्यसको जवाफमा राजसंस्थाको एजेन्डा किन महत्त्वपूर्ण छ भन्ने स्पष्ट पारेका थिए। तर, पूर्वराजाले लिङ्देनको नेतृत्वप्रति केही संकेतपूर्ण असन्तुष्टि व्यक्त गर्दै राजावादी आन्दोलनलाई एकताबद्ध बनाउन उनले पर्याप्त पहल नगरेको धारणा राखेको सहभागी नेताहरूको भनाइ छ। समग्रमा, पूर्वराजाले हालको आन्दोलनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्दै, आन्दोलन शान्तिपूर्ण र जिम्मेवार बनाइनुपर्ने सन्देश दिएका छन्।