काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।
उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट खोसेको थियो ।
पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।
राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै प्रदर्शन गरेका हुन् ।
राप्रपाले तीनकुने घटनाको छानबिन माग,पार्टीका नेताहरुको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो ।