प्रधानमन्त्री ओलीले भने– शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका छन्।सरकारले शिक्षकहरूको जायज माग पुरा गर्न तत्पर रहेको बताउँदै प्रधानमन्त्री ओलीले उनीहरूलाई वार्ता बस्न, आन्दोलन अन्त्य गर्न र विद्यालय फर्किन अपिल गरेका हुन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “तुरुन्तै वार्तामा आइदिनुहोस्, विषय टुंग्याऔं, सहमति गरौं र काममा फर्किऔं—मेरो यही आग्रह हो।”प्रधानमन्त्री ओलीले शिक्षकहरूले उठाएका मागप्रति सरकार नकारात्मक नरहेको स्पष्ट पार्दै भने, “हामी उहाँहरूको मागप्रति नेगेटिभ छैनौं। सम्भव मागहरू पुरा गर्ने सरकारको प्रतिबद्धता छ।

”सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरू ‘विद्यालय शिक्षा ऐन’ जारी गर्नुपर्ने लगायतका माग राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। शिक्षक महासंघको अगुवाइमा सुरु भएको आन्दोलन चैत २५ गतेदेखि आम शैक्षिक हड्तालमा परिणत भइसकेको छ। जसका कारण वैशाखदेखि सुरु भएको नयाँ भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षणजस्ता गतिविधिहरू प्रभावित भएका छन्।

प्रधानमन्त्री ओलीले आन्दोलनले कुनै सकारात्मक परिणाम नदिने उल्लेख गर्दै भने, “शिक्षकलाई फाइदा छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ। त्यसैले वार्तामा आएर सम्भव माग राख्नुहोस्, सरकार त्यसको सम्बोधन गर्न तयार छ।”उनले शिक्षक महासंघले यसअघि सरकारका शीर्ष नेतृत्वसँग संवाद गरेको तर अझै सहमति जुट्न नसकेको पनि स्मरण गराए।वार्ताबाट पछि हट्ने सोचप्रति आलोचना गर्दै उनले भने, “अनौठो सुनिएको छ—आन्दोलन गर्ने तर वार्ता नगर्ने? त्यो त एकदमै अलिक फरक भयो नि।”सरकार वार्ता र समाधानको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई सम्वाद र सहमतिबाटै समस्याको हल खोज्न आग्रह गरेका छन्।