• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रधानमन्त्री ओलीको दाबी : ‘सगरमाथा माउन्ट एभरेस्ट होइन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई “माउन्ट एभरेस्ट” भनेर चिनाइनु उपयुक्त नभएको टिप्पणी गरेका छन्। विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले सगरमाथाको नाम ब्रिटिश नापीविद जर्ज एभरेस्टसँग जोडिनु अनौठो भएको बताए।

‘माउन्ट एभरेस्ट भनेर जसको नाममा राखिएको छ, ती जर्ज एभरेस्ट स्वयंले सगरमाथा चढेका थिएनन्, उनले त ल्होत्सेलाई अग्लो भनेर टिप्पणी गरेका थिए,’ प्रधानमन्त्री ओलीले भने। उनले थपे, ‘उनले सगरमाथा पत्ता लगाएका पनि होइनन्, तर नाम भने उनीसँग जोडिएको छ । यो बुझिनसक्ने कुरा हो।’

प्रधानमन्त्री ओलीले सर्वोच्च शिखर सगरमाथालाई वास्तविक नाममै चिनाउनुपर्ने आवश्यकता औंल्याउँदै ‘माउन्ट एभरेस्ट’ भन्ने नामलाई “नक्कली” भन्दै खारेज गर्नुपर्ने धारणा राखे। उनका अनुसार सगरमाथा नेपालको शान हो, र यसका लागि विदेशी नामको आवश्यकता छैन।सोलुखुम्बुमा अवस्थित विश्वको सर्वोच्च शिखरलाई नेपाली नाम ‘सगरमाथा’ नै प्रयोग गर्नुपर्ने प्रधानमन्त्रीको जोड थियो।