
काठमाडौं । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ घरपरिवारलाई घरजग्गाको लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) वितरण गरेको छ।
बर्दिबासमा आयोजित एक विशेष कार्यक्रममा नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालय प्रमुख रामविनय सिंह, वडा नं २ का अध्यक्ष श्यामराजा सिंह र वडा नं ५ का अध्यक्ष काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका हुन्।वितरण गरिएका प्रमाणपत्रमध्ये बर्दिबास–५ का ६८ र बर्दिबास–२ का २४ घरपरिवारले पाएका छन्। अधिकांश लाभग्राही मगर समुदायका हुन्।
बर्दिबास–२ की ८० वर्षीया भीममाया आलेले दशकौंको संघर्षपछि लालपुर्जा पाएकोमा गहिरो सन्तोष व्यक्त गरिन्। “श्रीमान्को जीवनभर यही कागजका लागि दौडधुप गर्यौँ, उहाँ बित्नुभयो, अब बल्ल पाएँ,” उनले भनिन्।त्यस्तै, बर्दिबास–५ की ७० वर्षीया बुद्धिमाया आलेले आफ्ना दिवंगत श्रीमानको मेहनत ५० वर्षपछि सार्थक भएको बताउँदै धन्यवाद प्रकट गरिन्।लालपुर्जा पाउनेहरूमध्ये ७५ वर्षीय बुद्धबहादुर थापा मगर शारीरिक रूपमा अशक्त भए पनि घरजग्गाको स्वामित्वमा आएकोमा अत्यन्त उत्साहित देखिए। “हिँडडुल गर्न नसके पनि आजको खुसीले नाच्न मन लागेको छ,” उनले भावुक हुँदै भने।
नगरप्रमुख क्षेत्रीले लालपुर्जा वितरण कार्यक्रमलाई ऐतिहासिक भनी उल्लेख गर्दै पाँच दशकदेखि भोगचलनमा रहेको जग्गाको नापजाँचपछि स्वामित्व प्रमाणित गरिएको बताए।नापी कार्यालय प्रमुख सिंहका अनुसार, घरबास जग्गाका रुपमा तीन धुरदेखि १० धुर क्षेत्रफलसम्मको जग्गा नापजाँच गरी प्रमाणपत्र जारी गरिएको हो।उनले भने, “हामीले वडा अध्यक्षहरूको रोहबरमा नापजाँच गरी प्रमाणपत्र वितरण गरेका हौं। जिल्लाका अन्य वडाहरूमा पनि क्रमशः यो प्रक्रिया अगाडि बढाइनेछ।”