अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

काठमाडाैं । अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।

तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिए ।

यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियोे । तालिवानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ । यद्यपि तालिवान सरकारसँग डरका कारण आवाज उठाउन उनीहरू असमर्थ छन् ।

अफगानिस्तानको सत्ता हातमा लिँदा अफगानी जनताप्रति नरम नीति लिने घोषणा गरेको तालिवानले एकपछि अर्को गर्दै महिला, बालबालिका र युवापुस्ता लक्षित प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिबन्ध कहिलेसम्म लागू हुन्छ भन्ने बारे तालिवान सरकार केही बोलेको छैन । अफगानिस्तानमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

टिकटकले हटायो ६५ हजार पाकिस्तानी भिडियो

पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ ।

छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पुर्‍याउने भिडियोहरू हटाएको जनाइएको छ ।

टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियोहरू राखिरहनु उपयुक्त नहुने ठानेर हटाइएको हो ।

अति धेरै भिडियोहरु एकै चरणमा हटाइएका देशहरूमध्ये पाकिस्तान तेस्रो धेरै भएको समाचारमा जनाइएको छ ।

हालै सार्वजनिक भएको सामाजिक निर्देशिका उलङ्घनसम्बन्धी प्रतिवेदनका अनुसार पाकिस्तानीले बनाएको ६५ लाख ६३ हजार ५९४ ओटा भिडियो हटाइएको हो । सोही अवधिमा कूल आठ करोड ५७ लाख ९४ हजार २२२ ओटा भिडियो हटाइएको छ ।

सामाजिक सञ्जालको रूपमा टिकटक पछिल्लो समय दिनप्रति दिन लोकप्रिय भइरहेको छ । सोही अनुपातमा विकृति र विसङगति पनि बढिरहेको पाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१