• २०८३ जेठ २२
  • 2026 June 05, Friday

कतारले उपहारस्वरूप दिने लग्जरी बोइङ जेट स्वीकार गर्न तयारीमा ट्रम्प, तर एयर फोर्स वनको रूपमा प्रयोग नगर्ने

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक जम्बो जेट विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न सक्ने चर्चा चुलिएको छ। उक्त विमान कतार सरकारले उपहारस्वरूप दिने तयारी गरेको बताइएको छ।

यो विषयमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै ४० वर्ष पुरानो एयर फोर्स वनको स्थानमा अस्थायी रूपमा प्रयोग गर्नका लागि आफूले कतारबाट निःशुल्क ७४७ विमान प्राप्त गर्न लागेको बताएका छन्। उनले विमान उपहार दिने प्रक्रिया पारदर्शी ढंगले भइरहेको उल्लेख गर्दै डेमोक्रेट नेताहरूले यसका लागि रकम तिर्नुपर्ने जिद्दी गरिरहेको आरोप लगाएका छन्।

ट्रम्पले यो विमान जनवरी २०२९ मा पद छोड्नुअघि सम्म राष्ट्रपतिको आधिकारिक विमानको रूपमा प्रयोग गर्ने सम्भावना रहेको बताइएको छ। कतारको भ्रमणका क्रममा ट्रम्पले विमान उपहारको औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा कतारी सञ्चारकर्मी अली अल–अन्सारीले केही दिनअघि रिपोर्ट प्रकाशित गर्दै ट्रम्पको भ्रमणको क्रममा कतारले अमेरिकी सरकारलाई जम्बो जेट उपहार दिन सक्ने बताएका थिए। विमानको अस्थायी हस्तान्तरणका लागि कतारी रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभागबीच छलफल चलिरहेको छ। यद्यपि, सम्बन्धित कानुनी निकायहरूले अझै अन्तिम निर्णय नगरेको जनाइएको छ।ट्रम्प यसै हप्ता कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्कँदै छन्। यो उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हुनेछ।